+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

२१औं साधारणसभा सम्पन्न, मुना–मदन अक्षय कोष स्थापना

ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले आफ्नो २१औं वार्षिक साधारणसभा २०७९ पौष ०५ गते मंगलबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लहनु थारुको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य माननिय कृष्णा कुश्मा थारुको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएकोे हो ।

आर्थिक वर्ष २०७८/७९को अन्त्यसम्म २०७३ जना शेयर सदस्य रहेको संस्थाले ५३ लाख ६६ हजार ५८७ रुपैया ११ पैसा नाफा आर्जन गरि २ लाख ६९ हजार ६१२ रुपैयाँ राज्यलाई आयकर तिरेको छ । संस्थाको कुल शेयर २ करोड ३९ लाख १२ हजार ७०० पुगेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को अन्त्य सम्ममा १८ करोड ९४ लाख ३४ हजार ७२५ रुपैयाँ निक्षेप संकलन गरेको छ भने २१ करोड ८८ लाख ९६ हजार १५३ रुपैयाँ कर्जा लगानी गरेको छ । आर्थिक वर्षको अन्त्यसम्म कुल वासलात २६ करोड २९ लाख ६३ हजार ७४० रुपैयाँ ३६ पैसा रहेको छ ।

ठाकुरबाबा नगरपालिकाका संस्थापक नगरप्रमुख तथा संस्थाका पूर्व अध्यक्ष घननारायण श्रेष्ठले भन्नुभयो “अब सहकारीमा बचत तथा ऋणको कारोबार मात्रै होइन, व्यवसायिक कारोबार गरी आर्थिक रुपमा सबल बन्नुहोस् ।” आफुले विगतका वर्षहरुमा विभिन्न संस्थाहरुसंगको साझेदारीमा देशका विभिन्न ठाउँहरुमा गएर सहकारी निर्माण देखी प्रवद्र्धनसम्मको काम गरेको स्मरण गर्दै श्रेष्ठले सहकारीसंग समन्वय गरेर आफु पनि गाउँ–टोलटोलमा पुगेर सहकारी शिक्षा प्रदान गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मा. कृष्णा कुश्मा थारुले आफुले पाएको प्रदेशसभा सदस्यको जिम्मेवारीलाई कृषकहरुको हितमा काम गरेर पुरा गर्ने बताउनुभयो । साधारणसभाको अवसरमा २०७९ मंसिर १९ गते वैवाहिक बन्धनमामा बाधिनु भएका सदस्यता नम्बर ११७५ का शेयर सदस्य मदन शर्माले विवाहको भोजभतेर कार्यक्रममा खर्च हुने रकम बचाएर १ लाख ५ हजार रुपैयाँको “मुना–मदन अक्षय कोष” स्थापना गर्नुभएको छ । मुना–मदन अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमले हरेक वर्ष संस्था स्थापना दिवसमा जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिने छ ।

संस्थाले बीउ धान खेतीबाट उत्पादित सावित्री, सावा मन्सुली, बहुगुणी र हर्दिनाथ सावा जातको धान खरिद गरी आफ्नो गोदाममा भण्डारण गरी सकेको र संचालित बीउ बैंकबाट ठाकुरबाबा नगरपालिका संगै बर्दिया जिल्ला तथा अन्य जिल्लाका किसानहरुलाई गुणस्तरिय धानको बीउ उपलब्ध गराउने लक्ष्य राखेको छ । संस्थाले साधारणसभाको अवसरमा संस्थाका ७१ वर्ष माथीका १९ जना जेष्ठ शेयर सदस्यहरु, उत्कृष्ठ बचतकर्ता २ जना, उत्कृष्ठ ऋण कारोबार गर्ने सदस्य २ जना, उत्कृष्ठ ग्राहक सदस्य १ जना, सबैभन्दा बढी शेयर कारोबार गर्ने शेयर सदस्य ३ जना, ब्यवसायिक रुपमा सफल सदस्य २ जना सहकारीद्वारा संचालित बीउ धान तथा गहुँ उत्पादन कार्यक्रम अन्तरगत धान तथा गहुँको बीउ उत्पादन गर्ने २२ जना कृषकहरुलाई सम्मान गरिएको छ ।

बीउ उत्पादक कृषकहरुमा ठाकुरबाबा नगरपालिका–४, सैनवारका जन्जीरे थारु, राज कुमार थारु, रामा थारु, तुरुवा थारु, फिरुवा थारु, लक्षिराम थारु, बुधराम थारु रहनु भएको छ । यस्तै ठाकुरबाबा नगरपालिका–५, बनबिरपुरका सुन्दरीया थारु, जन्तरीया थारु, सुरज थारु, बालकिसुन थारु ठाकुरबाबा नगरपालिका–३, मानपुरका रमेश थारु, चिनबुदु थारु, अतवारी थारु, रतिलाल थारु, सिर्जन थारु ठाकुरबाबा नगरपालिका–३, मिर्चैयाका महादेवी थारु, लउतनुवा थारु, महेश थारु, लहनु थारु तथा ठाकुरबाबा नगरपालिका–५, तकियाका फुलराम थारु र खुसराम थारुलाई सम्मान गरिएको छ ।

बर्दिया जिल्ला कार्यक्षेत्र रहेको सहकारीले बचत तथा ऋणको कारोबार, रासायनिक मलखादको बिक्री, धान तथा गहूँको बीउ बिक्री, एकिकृत कृषि फर्म अन्तरगत बंगुर, बाख्रा तथा माछापालन तथा सुपथ मूल्य पसल संचालन गरि रहेको छ ।

संस्थाका सूचना अधिकारी सौगात श्रेष्ठले संचालन गर्नु भएको २१औं वार्षिक साधारणसभामा ठाकुरबाबा नगरपालिकाका निवर्तमान प्रमुख तथा संस्थाका पूर्वअध्यक्ष घन नारायण श्रेष्ठ, ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु, ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का वडा शम्भु प्रसाद थारु, सहकारीका संस्थापक अध्यक्ष कुल प्रसाद श्रेष्ठ, पूर्वअध्यक्ष पल्टा थारु, रेडियो टाइगर बर्दियाका प्रबन्ध निर्देशक भावुक योगी, प्रहरी चौकी सुर्यपटुवाका इन्चार्ज टेक बहादुर सुनारको आतिथ्यता रहेको थियो ।

Leave a Comment