बर्दियाको ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०७८ पौष ०९ गते शुक्रबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लहनु थारुको अध्यक्षता, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगानाको विशिष्ठ आथित्यमा साधारणसभा सम्पन्न भएकोे हो ।

२०७८ आषाढ ३१ गते सम्म २०४३ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७७/७८ मा १ करोड ५ लाख ६८ हजार ४८७ रुपैया नाफा आर्जन गरि ५ लाख ७१ हजार ९९५ रुपैयाँ राज्यलाई आयकर तिरेको छ । संस्थाको कुल शेयर २ करोड ८ लाख २३ हजार पुगेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को अन्त्य सम्ममा १६ करोड ७३ लाख २ हजार ४८९ रुपैयाँ निक्षेप संकलन गरेको छ भने १७ करोड ९५ लाख ९ हजार ६६ रुपैयाँ कर्जा लगानी गरेको छ ।

संस्थाले हालसम्म ५० विगाहमा गरिएको बीउ धान खेतीबाट उत्पादित राधा ४, सावा मन्सुली र साबित्री जातको धान खरिद गरी आफ्नो गोदाममा भण्डारण गरी सकेको र संचालित बीउ बैंकबाट ठाकुरबाबा नगरपालिकासंगै बर्दिया जिल्ला तथा अन्य जिल्लाका किसानहरुलाई गुणस्तरिय धानको बीउ उपलब्ध गराउने लक्ष्य राखेको छ ।

संस्थाले साधारणसभाको अवसरमा संस्थाका २० जना जेष्ठ शेयर सदस्यहरु, उत्कृष्ठ बचतकर्ता २ जना, उत्कृष्ठ ऋणी सदस्य २ जना, उत्कृष्ठ ग्राहक सदस्य २ जना, सबैभन्दा बढी शेयर कारोबार गर्ने शेयर सदस्य २ जना, ब्यवसायिक रुपमा सफल सदस्य २ जना सहकारीद्वारा संचालित बीउ धान तथा गहुँ उत्पादन कार्यक्रम अन्तरगत धान तथा गहुँको बीउ उत्पादन गर्ने ४३ जना कृषकहरुलाई सम्मान गरिएको छ । साधारणसभाको अवसरमा आर्थिक वर्ष २०७७/७८ को उत्कृष्ठ कर्मचारीको रुपमा संस्थाका सूचना, प्रविधि सहायक सौगात श्रेष्ठलाई समेत सम्मान गरिएको छ ।








